बाल कथा: जङ्गल र मान्छे
आज विद्यालयमा फरक खालको वातावरण थियो। हेडसरले सबै विद्यार्थीलाई जसरी भएपनि विद्यालय आउन भन्नुभएको थियो। त्यसैले म,सुनिता र खुशी एकाबिहानै विद्यालयतिर सोझियौ। मौसम चिसो थियो। आकाशमा बादल लागेर धुम्म थियो। पानी पर्ला पर्ला जस्तै थियो। हामी दगुरेर विद्यालय पुग्यौं। हामी सायद पहिल्यै पुग्यौं क्यारे, हेडसरले "स्याबास!" भन्नु भो। आज विश्व वातावरण दिवस रहेछ। थाहा नै थिएन। अरु सर र मिसहरु पनि आइपुग्नु भयो। सबैले फूलको गुच्छा हात लिएर आएको देख्दा मलाई खुल्दुली लाग्यो। "सर किन सबै सर म्याडमहरुले फूलको गुच्छा समात्नु भएको हातमा?" मैले प्रकाश सरलाई सोधेँ ।" ए, आज गाउँ-पालिकाका अध्यक्षज्यु आउँने अरे हाम्रो स्कुलमा। त्यसैले स्वागतका लागि फूलको गुच्छा लिएको।" प्रकाश सरल्रे लेग्रो तानेर जवाफ दिनुभयो। एकछिन पछि सबै जना उपस्थित भए। गाउँपालिका अध्यक्षले उद्घाटन गर्नुभयो। "जङ्गल र मान्छे " शीर्षकमा हरि सर (जो हामीलाई नेपाली पढाउनु हुन्छ)ले मिठो लयमा कविता सुनाउनुभयो। उक्त कविताले जङ्गल बिनाको मान्छेको जिन्दगीको कहालीलाग्दो परिकल्पना झल्काउथ्यो। त्यसप...