बाल कथा: गाउँ पो राम्रो

राजुको आमाले हिउँदको छुट्टीमा मामाघर लाने वाचा गर्नुभयो। पाँच-सात वर्ष गाउँ र शहरको भेद छुट्याउन नसक्ने बेलामा राजुलाई मामाघर लगेको रे। तर राजुलाई धेरै सानो भएकोले होला गाउँको बारेमा उतिसारो थाहा भएन। कक्षामा म्यामले मामाघर गएका छौ भनेर प्रश्न सोधिरहनु हुन्थ्यो। राजुले टाउको हल्लाउँथ्यो मात्रै। यसपटक भने राजुलाई जसरीपनि मामाघर जानु थियो। राजुको मामाघर काठमाडौं बाट टाढा सिन्धुपाल्चोक जिल्लामा थियो।

राजुलाई गाउँको बारेमा बुझ्नु थियो। साइतपनि जुर्यो।

"राजु यसपालि मामाघर जाने होइन त? म तिमिलाई मामाघर लैजान्छु।"  
"मामाघर! कहिले? राजु दङ्गदास पर्यो।
 
राजुलाई मामाघर जाने इच्छा पहिलेपनी नभएको होईन। तर यसपाली झनै मामाघर जाने भूत चढ्नु स्वभाविक थियोे किनकी स्कुलमा नेपाली पढाउने म्यामले मामाघर शीर्षकमा निवन्ध लेख भन्नुभएको छ।
 
पुरानो बसपार्कबाट बस चढेर राजु र उसकी आमा सिन्धुपाल्चोक जिल्लातिर लागे। नागबेली सडक, हिउँदको चिसो सिरेटाे, सेताम्य हिमालका दृश्य, अग्ला पहाडले राजुको मन असाध्यै रोमाञ्चित थियो। शहरमा जताततै मानिसहरुको घुइँचो, मोटरगाडीका कर्कश आवाज, फोहोर, धुवाँ र धुलोले टिकिनसक्नु अवस्थाबाट थोरै दिनका लागि पार पाएकोमा राजु खुशी थियो।
 
बेलुका अबेर राजुले मामाघरको आगनीमा टुप्लुक्क पाइला टेक्यो। राजु आउँनेरे भनेर मामाको छोरा अभिशेक घरै बसेको थियो। "ओहो राजु धेरै वर्षपछि आज मामाघर आयौ होइन त?" राजुले पहिला त मामालाई चिनेन। आमाले राजुलाई तिम्रो मामा हुनुहुन्छ नमस्कार गर भन्नुभयो। राजुले "नमस्कार मामा" भन्यो। शहरमा साघुरा गल्ली, अपरिचित मान्छे र भिडभाडमा हुर्किएको राजुलाई शहरभन्दा गाउँ कता-कता रमाइलो लाग्यो। ताजा तरकारी, दुध-दहि र घ्युको स्वाद बेग्लै थियो। सहरीया भन्दा गाउँका मानिसको आत्मीय भावनाले दङ्ग थियोे राजु। अभिशेकले राजुुलाई उसका साथीहरुसङ परिचय गराइदियो। गाउँमा खेलिने स्थानीय खेल डण्डिबियो, भुइँकासा, लुकामारी र झ्यापपारी खेल खेल्दा राजु आनंदित थियो।
 
यसरी,राजुको सातदिनको बसाइ सिद्दियो। गाउँको रमाइलो वातावरणले राजुलाई सधैं मनमा काउकुती लगाइरहेको थियो। उसले मामाघर शीर्षकमा राम्रो निवन्ध लेख्यो र म्यामको स्याबासी प्राप्त गर्यो।
 
भोला दुलाल
टोखा न.पा. - १, काठमाडौं 
२०७६/१०/०९

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल