~कोभिडले गर्दा आफ्नो व्यवशाय चौपट भएर थाल खानु न भात खानु भएको विनय श्रीमतीको दिनहुँजसो हुने कचकचले हैरान थियो।
~समयमै बैंकको ऋणको किस्ता बुझाउनु पर्ने बाध्यता भाडा,रासन-पानी र छोराको अनलाइन कक्षाको फि तिर्नुपर्ने दायित्व छदै थियो।
~श्रीमती उर्मिला आफ्नो औकातको ख्यालै नगरी लोग्नेलाई यो ल्याइदे र त्यो ल्याइदे भनेर टिक्न दिन्नथिइन।
~एकदिन त ऊनीले उधुम पो गरि त,"अरुका लोग्नेले स्वास्नीलाई कतिथरी गहना लगाइदिसके हाम्रा चाहिँ केहि छैन कस्तो नादानी लोग्ने फेला पारिछु नि मैले!
~"जान्न म त माइत।उता आफ्ना दिदिबहिनी झपक्कै भएर आउँछ्न।मलाई कम्ता लाज हुन्छ?"
~हुन देन त अरुका लोग्नेका बगलिभरी धन होला ल्याउलान तर हाम्रो त दुई वर्ष भैसक्यो धान्न मुस्किल छ।म यो अवस्थामा सबै कुरा कसरी पुर्याउँ भन् त?"विनयले जवाफ दियो।
~लोग्नेको अवस्था ख्यालै नगरि उर्मिलाले खुट्टा ठटाई,"जसरी भएपनि मलाई सुनको हार चाहिन्छ यसपालिको तीजमा। उता माइली दिदीले फेसबुकमा कस्ता लुगा गहनाको फाेटाे हालेर टिकटक हाल्छिन।मलाई त थुक निल्नु मात्रै छ।"
~बिनय श्रीमतीको कुराले आजित थियो।मनमनै सोच्यो।"उफ!कसरी घर-व्यवहार धान्ने भनेर चिन्तित भएको बेला स्वास्नीको खमखनले गर्नुगर्यो।
~अहिलेको सुनको भाउले आकाश छोएको छ।बजारमा छोइसक्नु केहि छैन।फेसबुकमा तीजले छपक्कै छोपिसक्यो।गहनापात र लुगाकपडाको प्रदर्सन अति छ।हुन त उर्मिला पनि आम नारी न परि।ऊ भित्र पनि अरुले लाएको खाएको जलन हुनु आखिर अस्वभाविक पनि त होइन।तर आफ्नो लोग्नेको औकातपनि त बुझ्नु पर्यो।
~"यो साल यस्तै भो उर्मिला अर्को साल नमरी बाँछे म पानी मुनि गएर भएपनि ल्याइदिन्छु ल!"
~बिनयको कुराले दाँतमा ढुङ्गा लागेको महसुस गरि उर्मिलाले।"आ बरु माइतै नगइ बस्छु।"कति दिन त बिनय र उर्मिलाको बोलचाल पनि बन्द भो।.........आजकाल लोग्ने स्वास्नीको सम्बन्धपनि औकातमा तौलिन्छ।
२०७८/०५/२०
-भोला दुलाल
टाेखा १, काठमाडौं
Post a Comment