लघु कथा

 


     शीर्षक:"गाउँ पो राम्रो!"


"आम्दानी घटेर गयो अब कसरी घर धान्ने होला?"प्रभा बिलखबन्दमा पर्छे।

छोराको स्कुलको फी,रासनपानी,घरभाडा र अन्य आवश्यक सामग्री कसरी व्यवस्था गर्ने भन्ने चिन्ताले पिरोलिएका छ्न प्रभा र उसको लोग्ने विजय।गाउँको खोरियामा काम गर्न सकिएन भनेर  चिचिभुँडी च्यापेर शहर पस्छ ऊ।उसमाथि पनि राजधानी जस्तो ठाउँमा जिउन त्यति सहज छैन।भन्न त भनेकी थिइ प्रभाले,"सोचेर मात्रै जाउँ काठमाडौं!" तर  बिजय जसरीपनि काठमाडौं नगइ नछोड्ने भयो।आखिर लोग्नेको जिद्दीको अगाडि हार खाइ प्रभाले।हुन त काठमाडौं धेरै व्यक्तिको जीवन बदल्ने ठाउँ पनि हो।उहि नेपाल गए कपाल सङै बर्मा गए कर्म सङै भनेजस्तै भो बिजयलाई।यहाँ आएपछि के के न गर्छु भनेको बिजय अहिले थक्क थक्क हुन्छ।स्वास्नीको कुरा मानेको भए बिजयलाई अहिले पछुतो हुने थिएन।


सामान्य पढेलेखेको ऊ यो शहरमा भनेजस्तो जागीर पाउने कुरै भएन।सेक्युरिटी गार्डको रूपमा काम गर्थ्यो बिजय।प्रभा भने चोकमा बसेर गाडामा मके,चना,केराउ अन्य भुटेको चिजबिज बेच्दै धेरथोर पैसा कमाउने गर्थि।अलि समय लोग्नेको कमाइ र आफ्नो कमाइले घर चलेकै थियो।महानगर पालिकाले फुटपाथ हटाएपछि उसको रोजगारी गुम्यो।सटर भाडामा लिएर व्यवसाय गर्ने ल्याकत उनिहरुमा थिएन।"पानी समेत किन्नुपर्ने ठाउँमा कसरी बस्नु? अब फर्कौ गाउँमै।"प्रभाले अलि कडा स्वरले बोली।जे भएपनि गाउँ भनेको गाउँनै हो।"एक-दुई छाक त ऐंचोपैचो पनि चल्छ।तर यहाँ त...............!"बिजय गाउँ फर्किनेमा निश्चिन्त भयो।


सुरुसुरुमा त सहरमा टिक्न नसकेर गाउँमा फर्क्यो भन्छन् कि भन्ने संकोच थियो।छोराछोरीलाई गाउँकै सरकारी स्कुलमा भर्ना गरिदियो बिजयले।व्यवसायिक कुखुरा पालन,बाख्रा र तरकारी खेति गर्ने अठोटका साथ दुबै जोईपोइ काम गर्न थाले।आखिर जाँगर चलाउन सके के शहर के गाउँ?पहिले जस्तो रहेन अहिले

गाउँमा जे भएपनि स्वच्छ हावा,स्वस्थ खानेकुरा र मान्छे बीचमा सहरमा भन्दा सम्बन्ध प्रगाढनै हुन्छ।कोहिले त एक माना खान धौधौ पर्ने बिजयले आफ्नो मात्रै आर्थिक अवस्था परिवर्तन गरेन गाउँकै मुहार फेर्न काम गर्यो भनेर प्रसंसा पो गर्न थाले।


-भोला दुलाल

२०७९/१२/२७

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल