लघु कथा
शीर्षक:"बखान"
के बोलौं के बोलौ लागेर हो साहिंला बाजे आफ्ना छोराछोरीको बखान गर्दै थिए।
"मेरो छोराले त अमेरिकामा घर किनेछ। त्यो पनि नेपाली तीन करोडको।"साहिंला बाजेले निकै गर्वका साथ भने।
वरिपरि बस्नेले खासै चासो दिएनन्।सधैं एउटै कुरो कति सुन्ने उनको।
"छोरीले क्यानडामा महिनाको पाँच लाख कमाउँछे।"साहिंला बाजेले फेरि थपे।
"अब मलाई केहिको पीर छैन।सबैतिर राम्रो छ।"साहिंला बाजेले फुर्ती लडाए।
यसपालि भने बिरमान साहुलाई झोकै चलेछ।
"बाजे!तपाईं आफ्नो बखान कति गर्नुहुन्छ?तपाईंका छोराछोरीले जतिसुकै कमाएपनि चियाको पैसा तिर्न दाँतबाट पसिना झार्नुहुन्छ।पोहोर देखिको चिया उधारो छ तपाईंको।
"बिरमान साहुले झ्याँको झारे साहिंला बाजेको।
उता उनकै भतिजो पर्ने एउटा कराउँदै थियो।खेतमा मल हाल्न भनेर पाँच हजार लिएको चार वर्ष भैसक्यो यो बुढोले अहिले सम्म दिदैन।
उता साहिंला बाजे दाँतमा ढुङ्गाे लागेझैं गरेर घर तिर लागे......त्यसपछि उनको छोराछोरीको बखान कम हुन थाल्यो।
भोला दुलाल(२०८०-०४-२१)
Post a Comment