कविता:


शीर्षक:"चिसिएका सपनाहरू"

 

म प्रत्येक पल सोच्छु

किन म अल्मलिएँ?

किन छोडिएँ बीच बाटोमा,

किन एक्लै भौंतारिएँ त्यसै?

ति असरल्ल सपनाहरुको स्मृतिका

पछिपछि किन दौडिएँ?

न ति सपनाहरू साकार हुन्थे

न ति सपनाहरु मेरो मनको कुनामा 

एउटा मिठो याद बनेर बस्थे 

म निस्काम ति सपनाहरूको खोजीमा 

बेलगाम घोडाझैं यत्रतत्र किन कुदिरहेँ?


धेरै अनुत्तरित प्रश्नहरुको चाङमा पर्लक्क

पल्टिएको मेरो कुँजो शरीर,

मेरो कुँजो सोचाइ र कुँजो ललाटले 

शायद,गिज्याएका होलान् 


त्यसैले,आजभोलि

मैले सपनाहरूलाई तिलाञ्जली दिएको छु

चितामा जल्दै गरेका शरीरका अवशेषरूपी 

खरानीलाई कतैबाट आएको सानो बतासको झोकाले 

उडाएजस्तै उडेर गए ति यादहरु


मरेर गए

हिउँदमा झरेको तुसारोले,मौलाएको दुबो खाएझैं 

ओहिलिएर गए 

बैशाख जेठको उखुम गर्मीले खङरङ सुकेका पातझैं 

लत्रेर गए 

चोट लागेर ढलेको फूलको बोट बोटझै


अब चिसिएका सपनाहरूको स्मृति होइन  

मलाई ति सपनाहरूले दिएका आहतरुपी चोट भुल्न 

विश्मृती चाइएको छ

अब सम्बन्धहरु पुनर्ताजगी गर्नुछैन मलाई 

कहिल्यै सपना नदेख्ने मिठो 

निद्रा चाहिएको छ।

चिर निद्रा चाहिएको छ


भोला दुलाल(०८/१७)

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल