शीर्षक:"हेलाँको फेला"
"गाइ बुढो भएपछि भिर खोज्छ।मान्छे बुढो भएपछि निउ खोज्छ भन्थे हो रहेछ।"करुणा रिसले झन्किन्छे। उमेरले झन्डै असी कटेका ससुराको गनगन सुनेर आजित छे ऊ।" हिजो लोग्नेलाई यो केटीले घर गरि खान्न अर्की लेराएस् कान्छा भनेर उकेरा लाउने यहि मर्न नसकेको बुढो त हो नि!"भित्रभित्रै मुर्मुरिन्छे करुणा।बाहिर जस्तोसुकै भएपनि भित्र दयाको भावना थियो करुणामा।लोग्ने कान्छी स्वास्नी च्यापेर सहर पसेको आज वर्षौं भयो।जेठाजु अंसमा बाउले पक्षपात गरे भनेर फुटेको आँखाले हेर्दैनन्।सासु आङ खस्ने रोगले थला परेर मरिन।लोग्नेले छोडेपनि करुणा घर गरेर बसि।नबसोस पनि किन।"हिजो बाउले यत्तिको परिवारमा बिहे गरिदिंदा फरक पर्दैन भनेर आगन पोलेर दिएका हुन्।अब कहिँ जान्न।"भन्थि ऊ।कहिलेकाहीँ त उसलाई पनि नलागेको होइन। बैँसमा लोग्ने साथै नहुँदा उसलाई कति अर्काको चौतारो कुर्नु भन्ने बिचार पलाएको थियो।राणो ससुरो त्यस माथीपनि रोगी स्याहार्न कसले पो सक्छ र?तर अरु आम महिला भन्दा फरक थिइ करुणा।लोग्नेको न्यानो स्पर्श नपाएपनि उसलाई इज्जत फाल्न मन लागेन।हुनत आजभोलि ससुरा भन्ने गर्थे,"मेरै कारणले तैले सौता व्यहोर्नुपर्यो।मलाई माफ गर्दे।"कति सजिलो छ मान्छेलाई माफी माग्न?भाँडा बुहार्तन गर्दै करुणा दुखेसो पोख्छे।"जे भएपनि ससुरा हुन।हिजो हेलाँ गरेपनि मेरै फेला परे।सायद मैले नै यिनको स्याहार गर्न लेखेको रहेछ त के गर्नु?"सुस्केरा हाल्दै भित्र पस्छे करुणा।तेतिन्जेल घाम डाँडामा बसिसकेको थियो। २०८०-०१-२५ -भोला दुलाल
Post a Comment